आज प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा कोभिड–१९ विरुद्धको खोप कोभिशिल्डको शुभारम्भ गर्नुभएको थियो । आज दिउँसो १ बजेसम्म प्रदेश नं १ मा १२७, प्रदेश नं २ मा ५४०, वाग्मती प्रदेशमा एक हजार दुई, गण्डकी प्रदेशमा ३०६, लुम्बिनी प्रदेशमा २२३, कर्णाली प्रदेशमा ३९८ र सुदूरपश्चिम प्रदेशमा ३०५ गरी कूल दुई हजार ९०१ जनाले खोप लगाएका छन् ।
प्रवक्ता प्रा डा गौतमले अहिलेसम्म कुनै अवाञ्छित घटना नभएको बताउनुभयो । खोप कार्यक्रम अभियान देशभरिका ३०० खोप केन्द्रबाट स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत अग्रपक्तिमा खटिने सेवा प्रदायकलाई १० दिनभित्र खोप दिइने छ । पहिलो चरणको खोप कार्यक्रमअन्तर्गत चार लाख ३० हजार जनालाई लगाउने लक्ष्य मन्त्रालयको छ ।
यस्तै आज मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक डा अर्चना श्रेष्ठले कोभिशिल्ड खोपको प्रभावकारिता ६२ प्रतिशत रहेका र कुनै समस्या नगर्ने भएकाले ढुक्क भएर खोप लगाउन सबैसँग आग्रह गर्नुभयो । अहिले विश्वमा ९५ वटा खोप विकासको चरणमा र दुई वटा खोपले मान्यता पाइसकेका तथा आठ वटा खोप विभिन्न मुलुकले आकस्मिक प्रयोगका लागि प्रयोग गरिसकेका छन् ।
कोभिशिल्ड खोप २४ हजारमा परीक्षण गरिएको थियो । जसमध्ये १२ हजार ३१ ले खोप लगाएका थिए । जसमा हजारमा सात जनामा मात्र स्वास्थ्य समस्या देखिएको थियो । यो खोपको कारणले स्वास्थ्य समस्या नगण्य रुपमा देखिएको अध्ययनले देखाएको छ । खोप लगाएर कसैको पनि निधन नभएको सहप्रध्यापक डा श्रेष्ठले बताउनुभयो ।
ब्राजिल, दक्षिण अफ्रिका र अमेरिकामा भएको अनुसन्धानले खोप प्रभावकारिता ६२ प्रतिशत देखिएको छ । आठ हजार ८९५ जना अध्ययनमा भाग लिँदा चार हजार ४५५ लाई खोपजस्तै सुई मात्र दिएको थियो । त्यसमा हजारमा १६ लाई सङ्क्रमण देखिएको थियो भने चार हजार ४४० लाई खोप दिँदा जम्मा हजारमा छ जनालाई खोप सङ्क्रमण देखिएको अध्ययनले देखाएको डा श्रेष्ठले बताउनुभयो ।