काठमाडौं, पुस । नेपालमा कोरोना भाइरसका ४२१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार आठसयको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१९ मा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले हालसम्म दुईलाख ६१ हजार ८५९ मा भाइरसबाट सङ्क्रमित भएको बताए ।
हाल पाँचहजार ४८७ मा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ६३७ कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५४ हजार ४९४ सङ्क्रमित निको भएका छन् ।
निकाे हुने दर ९७.१९ प्रतिशत रहेकाे छ । मन्त्रालयले हालसम्म १९ लाख ४८ हजार ५०२ को आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा आठ सङ्क्रमितको मृत्यु भएको छ ।
उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८७८ पुगेको छ । हाल ३६७ क्वारेन्टिनमा र पाँच हजार ४८७ आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।