काठमाडौं, पुस । वाग्मती प्रदेशको प्रदेशसभा बैठक माघ ७ मा बस्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको सातौं अधिवेशन माघ ७ गते दिउँसो ३ बजे बोलाउन प्रदेश प्रमुखलाइ पत्राचार गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिए ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध आफ्नै दल नेकपाको दाहाल–नेपाल समूहबाट प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको सातौं अधिवेशनको विषय अन्योलमा परेको थियो ।
बजेट अधिवेशन सकिएसँगै साउन ८ गते प्रदेशसभाको छैटौं अधिवेशन स्थगित गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध दाहाल–नेपाल समूहका ४५ सांसदले पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव आउने डरले मुख्यमन्त्री पौडेलले लामो समयदेखि प्रदेशसभाको बैठक बोलाएका थिएनन् ।
कानुनी व्यवस्था अनुसार एउटा अधिवेशन सकिएको ६ महिनाभित्र अर्को अधिवेशन सुरु गर्नुपर्ने बाध्यता अनुसार बैठक बोलाइएको हो ।