रामायण र कुन्डलिनी योग

रामायण र कुन्डलिनी योग

  • Sobizpress SuAdmin
  • आइतवार, भाद्र २८ २०७७


  • रामायण र कुन्डलिनी योग

    रामायणर कुन्डलिनी योग

    रोजन घिमिरे

    images

    रामायण भन्नाले राम र आयन अर्थात्र मको कथा भन्ने बुझिन्छ। गूढार्थमा राम भनेको हरेक व्यक्तिभित्र स्थित आत्मिक चेतना हो। त्यसैले आफैलाई चिन्नेसम्मको यात्रा भरिएको कथा नै रामायण हो भन्न सकिन्छ।

    रामायण शुरू हुन्छ राजा दशरथबाट। दशवटा रथको अर्थ हुन्छ दश इन्द्रियहरू (पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय )।

    कथानुसार राजा दशरथको विवाहको धेरै समयसम्म पनि कुनै सन्तान हुंदैनन् । कुनै समय एक ॠषिको अगाडि धेरै विलाप गर्दा उनले एउटा यज्ञ गर्ने सुझाव दिन्छन् । 

    मान्छे जतिसुकै इन्द्रियसुखमा लागे पनि उसको भित्रको चेतनाले जहिले पनि आत्मबोधको आनन्द प्राप्त नगरेसम्म त्यसको लागि केही न केही जुक्ति खोजिरहेको हुन्छ। यसको लागि उसले ज्ञानी महात्मापुरुष वा ॠषिसँग उत्कट अभिलाषा प्रकट गर्दछ र ज्ञानी महापुरुषले पनि व्यक्तिको इच्छालाई आफ्नो कसीमा राम्ररी जांचेपछि तपस्चर्या र यज्ञको बाटो देखाउँछन्।

    यो दश इन्द्रियमा रमाउने मानिस तीनथरी गुणले बाँधिएको हुन्छ - राजा दशरथका तीन रानीहरु कौशल्या, कैकेयी र सुमित्रा जस्तै। यी तीन क्रमश: सत्व, तमो र रजोगुणका प्रतीक हुन्।  

    सत्वगुणसहितकी कौशल्याबाट रामजस्तो शुद्ध आत्माको जन्म हुन्छ तर जबसम्म मानिस आफूमा भएको भगवानको अनुभव गर्न सक्तैन, जन्मनुको मात्र केही अर्थ हुँदैन। तमस गुण सहितकी कैकेयीबाट भरतजस्तो देहाभिमानको जन्म हुन्छ र सुमित्राबाट लक्ष्मण र शत्रुघ्नको। भरत देहाभिमानको प्रतीक हुन् अर्थात् तमसको कारणले देहमा र संसारमा मोहित तर पुरुषार्थ गर्न नसक्ने; बरू प्रतीक्षा जति पनि गर्न सक्ने। लक्ष्मण र शत्रुघ्न रजसको परिणाम हुन् जसले मानिसलाई कार्योन्मुख गराउँछन्। मानिसको शत्रु भनेका आसक्ती सहितका कार्य र विचार हुन् जसलाई जित्न यम, नियमहरुको पालन गरेर अनासक्त हुनुपर्छ - जुन शत्रुघ्नले प्रतिबिम्बित  गर्छन्।

    रामायणमा राम र लक्ष्मण जँगलमा र भरत पादुका पूजन गरेर रामको पुनरागमनको प्रतीक्षामा बस्ता शत्रुघ्नले नै राज्यका सम्पूर्ण कार्य सम्हालेर राखेका हुन्छन्। लक्ष्मण भनेको स्व को बोधको लागि संकल्प हो, कहिल्यै नडग्ने लक्ष्य हो। यसरी रामको अनुभूतिको लागि दश इन्द्रिय, तीन गुणबाट अप्रभावित रहेर भरत अर्थात् देहाभिमानलाई संयमित राखेर शत्रुघ्न जस्तो यम र नियम पालन गरी स्वबोधको लागि गर्ने यात्राको कथा रामायण हो।    

    रामायणका माथि उल्लेखित पात्रहरुले आत्मारुपी रामको अनुभवको लागि पूर्वशर्तहरुमात्र बुझाउँछन्, साच्चैको आत्मबोध त सीतारुपी जीवनशक्ती (कुन्डलिनी शक्ति)को प्रकाशमा मात्र हुनसक्छ। सीता त मिथिलामा जमिनबाट जनकले भेट्टाएको कथा छ। हाम्रो संस्कार र शास्त्र सिकाउने हाम्रा घर र शिक्षालयका पालकहरुले अर्थात् जनकले हामीलाई हाम्रो मूल जीवनशक्ति त पृथ्वीतत्वको मूल स्थान मूलाधारमा रहेको जानकारी दिन्छन्। यो उर्जाको मूल र चैतन्य आत्मा यही शरीरमा हुँदा हुँदै पनि विश्वामित्र जस्तो गुरुको आशिर्वाद र कृपाबिना एउटा व्यक्तिले आनन्दरूप आत्माको झलक पाउन सक्तैन। गुरुको कृपा र दिक्षाको कारणले, संस्कार र शास्त्रले सिंचित भएका रामले जीवनशक्तिरूपी सीतालाई वरण गर्नु, त्यो पनि दश इन्द्रिय र तीन गुणको बन्धनमा परेको अयोध्याबाट पर मिथिला नगरीमा - यो शिव र शक्तिको मिलनको अर्थात् कुन्डलिनी शक्तिको मुलाधारबाट सहस्रारको यात्राको पहिलो दृश्य हो जतिबेला पहिलोपटक राम रूपी आत्मबोध प्रकाशित हुन्छ।     सीता-राम विवाहपछि केही समय अयोध्यामा आनन्दपूर्ण समय हुन्छ।

     तर मानिस आफ्नो योग अभ्यासको कमीले आनन्दको झलक पाइसकेपछि पनि पुन: तमोगुणको प्रभावमा परेर इन्द्रियजनित कार्यमा लाग्दछ। 

    यसै अर्थमा तमोगुण रूपी कैकेयीले भरतलाई राजा बनाउनुपर्छ भन्नु दैहिक सुखमा ध्यान दिनलाई आकर्षित गर्नु हो। पुन: लयमा फर्कन, अर्थात् आनन्दपूर्ण आत्मचेतमा फर्कन इन्द्रिय र गुणहरुको प्रभावलाई लत्याउंदै सलक्ष्य तपस्चर्या गर्नुपर्दछ जसलाई इंगित गर्दछ राम, सीता र लक्ष्मणको वनवासले - अर्थात् विस्मृत   स्वचेतना, विस्मृत शक्ति तर शिवशक्तिको मिलनको संकल्परूपी लक्ष्मण सहित।

    एकपटक समाज र गुरुले जुराइदिएको अथवा कुनै आयोजनले सौभाग्यले प्राप्त गरेको सहस्रार सम्मको कुन्डलिनी जागरण चीरस्थायी रहँदैन - आफ्नो स्वप्रयास भैराखेन भने।

    यो जागरणको आनन्दको झल्को एकपटक हराइसकेपछि आत्मबोधको मार्गको पहिलो साथी भनेको उसको लक्ष्य हुन्छ। जब मानिस संकल्प गर्छ तब शरीरको अहंकार पनि महशूश गर्छ म भट्किएछु भनेर। तब त देहाभिमान स्वरूप भरत पनि, “तमोगुणको प्रभावमा परेर गलत हुनगयो; हजुर आफ्नो साम्राज्यमा फर्केर आउनुस् - हे राम !” भन्दै गिडगिडाउदै आउँछन् चित्रकूटमा । तर रामले आशय गर्छन् - तिमी प्रतीक्षा गर, म वनवासरूपी तपले पूर्ण ननिखारिएसम्म र आफूलाई दिव्यतामा स्थापित नगराएसम्म फर्कन्न। जसरी शिवको मन्दिरमा नन्दीलाई प्रतीक्षारत अवस्थामा देख्न सकिन्छ त्यसैगरी भरत पनि आत्मप्रकाशले शरीरमा दिव्यता न आउन्जेल प्रतीक्षामा रहन्छन्। शत्रुघ्नले शरीरलाई एक ठाउँमा रहन सक्ने बातावरण बनाउन सहयोग गर्छन्- राज्यका नियमित कार्यहरु संचालन गरिरहेर, सिंहासनको मालिक तपमा रहेको बेला। तपस्चर्यामा शरीरलाई पर्न सक्ने जती पनि व्यवधान छन - ती नहोउन् र प्रतीक्षामा परमात्मालाई  प्रस्फुटन हुन दिनका लागि शरीरले गर्नुपर्ने जुन कार्य हो - त्यसमा केही वाधा नपरोस् भनेर आयोजना गर्ने कर्म र यम, नियमको पालना शत्रुघ्नको पात्रले प्रतिबिम्बित गर्दछन्।

    जब राम वनवासमा गए, दशरथको मृत्‍यु हुन्छ अर्थात् शिवशक्तिको मिलनपछि इन्द्रिय प्रभावको अन्त्य हुन्छ, सँगसंगै तमोगुणरूपी कैकेयी पनि विक्षिप्त हुन्छिन। इन्द्रियसुख र तमोगुणबाट टाढिए पनि संकल्प शक्तिले मात्र शिव-शक्तिको आनन्द सधैंभरी कायम रहन सक्तैन। उर्जाको अनियन्त्रित प्रवाहले पुन: सुरुचियुक्त साँसारिक चीजहरुमा आशक्ति हुन थाल्छ । यही  आशक्तिको फाईदा उठाउंछन् मारिच र रावणले। रावण भनेको दश टाउकासहितको दश इन्द्रियलाई जनाउछ। जुन दश इन्द्रियबाट हटेर गुरु र जनकको आयोजनमा सीतासँग रामको मिलन भएको थियो, त्यो आयोजन पुन: तपस्चर्याले प्राप्त गर्ने प्रयासमा लाग्दा लक्ष्यको विस्मृती हुने वित्तिकै दश इन्द्रियको प्रभावमा परेर वियोग हुने स्थिति आउँछ। सुनौलो हरिण देखेपछि अर्थात् जीवनशक्ति सुखद इन्द्रियानुभूतीतिर आकर्षित भएपछि लक्ष्य आत्मपथबाट विमुख हुन्छ - बिषयतिर लाग्दछ - त्यसपछि दश इन्द्रियसहित अहंकाररूपी रावणको वशमा परेर उर्जारूपी सीता सहस्रार चक्रको परम-चैतन्य ‘राम’ बाट टाढा पुग्दछिन् । फेरी आत्मा विस्मृत अवस्थामा पुग्दछ- साथमा खालि लक्ष्य रुपी लक्ष्मण र आनन्दोन्मुख अन्त: प्रेरणा।

    यसरी रामको कथामा घरी घरी शक्ति र चैतन्यको मिलन र विछोड देखाइएको छ: उर्जा र चेतनाको अनुभव प्राप्त गर्ने स्थायी तरीका नभेटाइए सम्म। सीताको खोजमा त्यसपछि भौतारिन्छन् राम र लक्ष्मण, त्यसक्रममा अगस्त्य मुनी लगायत महान ॠषिहरुसँग भेट हुन्छ जसले योगका महत्वपूर्ण ज्ञान प्रदान गर्दछन्। किस्किन्धामा हनुमान र सुग्रीवसँग भेट हुन्छ। हनुमान वायुको प्रतीक हुन् र ॠषिहरुको सल्लाहबमोजिम प्राणायामको अभ्यासमा लक्ष्यसहित साधक लाग्नुको प्रतीक हो। भौतिकताको प्रतिमुर्ति लंकामा (मूलाधारमा) लुकाइएकी उर्जाशक्ति सीतालाई प्राप्त गर्न रामसँग संकल्पशक्तिरूपी लक्ष्मण, प्राणायामको प्रतीक हनुमान, प्रभावी वाणी र मन्त्रोच्चारणको प्रतीक सुग्रीव र नल-नीलले ओछ्याएको ढुङ्गाको पुलरूपी आस्थाको साथ थियो जसको सहयोगले इन्द्रिय सुखमा आसक्त- अहंकाररूपी रावणको विनाश सम्भव भयो। त्यसपछि शक्तिसँगको मिलनले राम स्वप्रकाशयुक्त भए र स्थायी रूपमा अयोध्या फर्किएर आनन्दपूर्ण राज्य गरे। जीवनरूपी राज्य गर्दा रामजस्तै आत्मबोधको आनन्द पनि उठाइरहन जाग्रित कुन्डलिनीको साथ अटूट रूपमा रहिरहनुपर्दछ जसको लागि लक्ष्मणजस्तो प्रस्ट लक्ष्य र एकाग्रता सहित शत्रुघ्न जस्तो यम नियमको पालन र निश्काम कर्म, भरतको जस्तो धैर्यता र हनुमानको जस्तो शारिरीक चुस्ती र प्राणायामको अभ्यासमा निरन्तर रहनुपर्दछ। यसरी एउटा सामान्य व्यक्तिलाई स्थायी रूपमा सहस्रार चक्रमा प्राप्त हुने चैतन्य र

    आनन्दको जागरुक अनुभूतीको लागि मूलाधार पृथ्वी तत्वमा निहित कुन्डलिनी महाशक्तिलाई बाँकी चक्रहरुमा चलायमान गर्ने अभ्यासको आवश्यकता पर्दछ । रामायणमा चैतन्यस्वरूप राम सहस्रार चक्रमा स्थित परमानन्द हुन्, संकल्पशक्ति आज्ञाचक्रसँग सम्बन्धित छ। जब कोही जलतत्वबोधक स्वाधिस्ठान चक्ररूपी सागर तर्दै, तपस्चर्याको ताप (मणिपुर चक्र)को अनुभुती गर्दै,  मन्त्रोच्चारण (विशुद्धी चक्र) र प्राणायाम (अनहत चक्र) सहित संकल्प (आज्ञा चक्र) लिएर अभ्यासरत हुन्छ - तब कुन्डलिनी महाशक्ति मूलाधारबाट सहस्रार चक्रसम्म संचारित हुन्छ र धैर्यसाथ यम नियमको पालनसहित निश्काम कर्मको अभ्यासमा रहँदा शक्तिको प्रवाह र आनन्दानुभूति व्यक्तिको इच्छाशक्तिको अधीनमा रहन्छन्।   

    लेखको प्रेरणा स्रोत : एसोटेरिक रामायण (रोबर्ट स्वोबोदा)

    आइतवार, भाद्र २८ २०७७०४:०३:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to SKY Nepal